राष्ट्रिय वनक्षेत्र माथि पर्ने वन पैदावारको चापलाई कम गर्न नेपाल सरकारले अवलम्बन गरेको नीति अन्तर्गत सामुदायिक वनसँगै निजी वन कार्यक्रम समेत यस जिल्लामा संचालन गरिएकोे छ । हालसम्म यस डिभिजन वन कार्यालय तेह्रथुम अन्तर्गत ३२ जनाको २६.१हे. निजी वनको रुपमा दर्ता गरिएको छ ।
यस जिल्लामा आफनो निजी जग्गामा उत्तिस, सल्ला, खयर, चिलाउने प्रजातीका प्रशस्त मात्रामा वन वुट्यानहरु रहेका छन । त्यस्तो क्षेत्र कति छ भन्ने एकिन तथ्याङ्क नभए तापनि प्रतिबन्धित प्रजाति बाहेक अन्य प्रजातिहरुको विक्री वितरणवाट कृषकहरुले राम्रै आम्दानी गर्ने गरेको पाईन्छ । निजी जग्गाहरुमा रहेका काठजन्य प्रजातिमा सल्लो, उत्तिस, खयर काठ विक्रीबाट कृषकहरुले राम्रो आम्दानी लिने गरेका छन । खाली स्थानमा निजी वन लगाउन चाहने कृषकहरुलाई डिभिजन वन कार्यालयले निशुल्क विरुवा तथा प्राविधिक सेवा समेत उपलब्ध गराउँदै आएको छ । यस जिल्लामा निजी वन दर्ता गर्ने र व्यवस्थापन गर्ने गरेको कमै पाईन्छ । निजी नर्सरीहरु स्थापना गरी वहुमुल्य जडिबुटी तथा वहुउद्देश्यीय वनजन्य प्रजातिहरुको उत्पादन, वितरण र वृक्षारोपणवाट एकातिर जीविकोपार्जनमा टेवा पुग्ने र अर्कोतिर वन पैदावारको मागको आपूर्ति पुरा गर्न सहयोग पुर्याई सामुदायिक तथा सरकारी वनमाथि पर्ने चापलाई कम गरी हरित क्षेत्रमा महत्वपुर्ण योगदान दिन सकिन्छ । यसको लागि डिभिजन वन कार्यालयले समेत छिटो वृध्दि हुने तथा वहुउद्देश्यीय प्रजातिहरुको विरुवा उत्पादन गरी वितरण गर्ने कार्यक्रम राखेको छ । तथापी निजी वनमा भएको लगानीको प्रतिफल आउन समय लाग्ने र वन स्थापना र व्यवस्थापनमा शुरुका वर्षहरुमा वन धनीको मात्र लगानी हुने भएकोले निजी वन प्रतिको आकर्षण बढ्न नसकेको हो ।
डिभिजन वन कार्यालयवाट प्रत्येक वर्ष हजारौंको संख्यामा निजी क्षेत्रमा निःशुल्क विरुवा वितरण गरिए तापनि हालसम्म तिनको अवस्थाको वारेमा औपचारिक रुपमा अनुगमन गरी तथ्य प्रकाशमा आएको छैन। राष्ट्रिय वन विकास कार्यक्रम, सामुदायिक वन विकास कार्यक्रम अन्तर्गत विभिन्न प्रजातीका विरुवा उत्पादन र वितरणका लक्ष्य राखेको यस कार्यालयबाट आगामी दिनहरुमा समेत निजी वन व्यवस्थापनको लागि तपसिलमा उल्लेखित क्रियाकलापका लागि प्राविधिक सहयोग उपलब्ध गराईनेछ।
- बीउ/बीजन/विरुवाको पहिचान, संकलन तथा प्रजातिको पहिचान
- नर्सरी व्यवस्थापन
- निजी वन स्थापना गर्ने क्षेत्र सर्भेक्षण तथा प्रजातिको पहिचान
- निजी वृक्षारोपण, पुनःरोपण, गोडमेल तथा सम्वर्द्धन
- रोग किरा निदान
- कृषि वन प्रणाली प्रवर्द्धन
- निजी वनको रुख कटान तथा अन्य वन पैदावारको सदुपयोग
- निजी वनको स्रोत सर्वेक्षण तथा मूल्याङ्कन
- वन पैदावारको बजार पहिचान, व्यवस्थापन तथा मूल्याङ्कन
- अन्य आवश्यक प्राविधिक सहयोग